आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

विचार

  • एउटा श्रमजीविको बकपत्र

                                                                       –ओमप्रसाद घायल 
    एकदिन एउटा संस्थाले अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रममा निम्ता दियो । त्यहाँ पुग्दा जिल्लाका धेरै संचारकर्मीहरु उपस्थित थिए । फलफूल वितरण कार्यक्रम शुरु भयो । अस्पतालमा बिरामीको संख्या जम्मा सात रहेछ । चानचुन पाँचसय रुपैयाँको फलफूल वितरणपछि आयोजक संस्थाका अध्यक्षले सबै पत्रकारहरुलाई चियापान गराए र भने ‘भोलि कुनकुन पत्रिकामा आउँछ, जानाकारी पाउँ है †, सकेसम्म फोटोसहित फ्रष्टपेजमा छाप्दिनुहोला ।’

    अर्कोदिन एउटा पत्रकार सम्मेलनमा बोलाइयो । चिनेकै साथीले आयोजना गरेको कार्यक्रम हुनाले त्यहाँ पुगेँ । त्यहाँपनि पूर्ववत जिल्लाका धेरै पत्रकार साथीहरु उपस्थित थिए । संस्थालेआफ्नो स्थापना दिवस मनाउने कार्यक्रम रहेछ । त्यसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरिएको रे । एवं रितले कार्यक्रम शुरु भयो । त्यस संस्थाको सूचीमा पनि पहिलो दिन अस्पतालका विरामीहरुलाई फलफूल विरतण गर्ने, दोश्रोदिन बजार सरसफाई गर्ने र तेश्रोदिन  कारागारका कैदीबन्दीलाई केही पत्रिकाहरु वितरण गर्ने कार्यक्रमको तालिका प्रस्तुत भयो । तीनदिने कार्यक्रम भएपनि त्यही चानचून दुईतीनहजार भन्दा बढि खर्चको त्यो कार्यक्रम थिएन । पत्रकार सम्मेलन सकिएपछि आयोजक साथीले पनि पत्रकारहरुलाई चियापान गराए र भने ‘यो समाचार सबै राष्ट्रिय पत्रपत्रिकाहरुमा छाप्दिनुपर्‍यो है † विदेशतिरबाट साथीहरुले पनि सहयोग गर्छौ भनेका छन् । समाचार आयोभने सहयोग माग्न सजिलो हुन्छ ।’

    उपरोक्त घटनाहरु पछिल्लोपटकजिल्लामा हुनेगरेका प्रतिनिधि घटनाहरु हुन् । यस्ता धेरै आयोजकहरुको पछि दौडिँदा दौडिँदा कहिलेकाहीं मजस्ता धेरै पत्रकारहरु भोकै हुन्छन् । समाचारको महत्व केछ वा त्यस समाचारले समाजमा के प्रभाव पार्छ ? मतलव छैन । आयोजकको खुसीका लागि उसको कार्यक्रममा पुग्दिनुपर्ने र उसकै खुसीका लागि जवर्जस्त समाचार लेखिदिनुपर्ने संचारकर्मीहरुलाई केही बाध्यता पनि छ । आज धेरै तथाकथित संघसंस्था र व्यक्तिहरु सहयोगको नाम दिएर मिडियामा हावी भइरहेका छन् । उनीहरुको सामान्य कामले हाम्रो मिडियामा ठूलो आकार लिएको छ । लेखनकर्म र पत्रकारिताको महत्वपूर्ण विषयसूचीलाई बिर्सेर आजको संचारजगत त्यही औपचारिकतामा केन्द्रीत भएको छ । 

    पहिरोपीडितको परिवारलाई दुईपोका चिउरा र १० पोका चाउचाउ बाँड्न पर्‍यो पत्रकार, टायर बाल्दा पत्रकार, तालाबन्दी गर्दा पत्रकार, जलुश निकाल्दा पत्रकार,  यता पत्रकार, उता पत्रकार । हरेक आयोजकको नजरमा मानौ एक पत्रकार सर्वव्यापी प्राणी हो, कसैले अराधना गर्दावित्तिकै उसको कर्मकाण्डमा क्यामेरा बोकेर प्रकट हुनुपर्छ । आजकल आयोजकहरु पत्रकारलाई यसरी प्रयोग गरिरहेका छन् । कुनैपनि कामको आयोजना समाज रुपान्तरण वा सेवाका लागि हुनुपर्छ । तर आजकल आयोजना हुने कार्यक्रममा सेवा नभएर केबल स्वार्थ लुकेको छ । सहयोगलाई प्रचारमुखी बनाउने र मिडियाबाजी गर्ने विकृत मनोविज्ञानबाट आयोजकहरुको कर्म प्रेरित भइरहेको छ ।पछिल्लोसमय नेपाली मिडियापनि आफ्नो बास्तविक धर्म र कर्म बिर्सेर यस्तैयस्तै सस्ता आयोजकको पछि कुदिरहेको देखिन्छ । 

    धर्मभन्छ–‘तिम्रो दायाँहातले दिएको कुरा बायाँहातले थाह नपाओस ।’ तर आजकल कथित दाताहरु मिडियालाई माध्यम बनाएर दिनहुजसो यसरीनै आफ्नो पाखण्डी कर्मकाण्डको व्यापक प्रचार गरिरहेका छन् । नक्कली समाजसेवाको अतिरञ्जनाभित्र बास्तविक समाजसेवा छायाँमा परिहेको छ ।

    आज धेरै संघसंस्थाहरु बास्तविक सहयोगका लागि नभएर टिभी र पत्रिकामा देखिनका लागि र रेडियोमा सुनिनका लागि सहयोगको बहाना बनाएर पीडितहरुको दैलोमा पुग्छन् । अस्पतालको शैयामा पुग्छन् । यहाँ सेवाभाव पटक्कै छैन । छ त केवल सस्तो लोकप्रियताको स्वार्थ । हैनभने बास्तविक सहयागीले अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई दुईटा स्याउका दाना र एउटा विष्कुट बाँड्न जाँदा किन चाहिन्छ मिडिया ? किन चाहिन्छ पत्रकार ?। यस्तै स–साना ढोंगीकर्ममार्फत आजकल आयोजकहरुले राष्ट्रिय संचारमाध्यममा आफ्नो ‘स्पेश’ खोजिरहेका छन् । बाढीपीडितबाट घरबारविहीन भएको र लाखौंको सम्पत्ति क्षति भएको परिवारमा पुगेर उसले दिने १० पोका चाउचाउ र एकपोका चिउराको मूल्य कति? चानचुन त्यही तीनसय होइन ? तर त्यो सहयोगदाताको ध्यान पीडितहरुलाई सहानुभूति व्यक्त गर्नभन्दा पीडितहरुसँग फोटो खिचाउन र त्यो फोटो विभिन्न सामाजिक सञ्जालहरुमा पोष्ट गर्न बढि दत्तचित्त देखिन्छ । आफन्तसँगै सम्पत्ति गुमाएका शोकविह्ल परिवारसँग आखिर सचेत पत्रकारको संवेदना के त ?वास्तवमा आजको मिडिया र मिडियाकर्मी पनि त्यही उपयोगबादमा समर्पित भइरहेको छ । उसँग सिर्जनशीलता ह्रास हुँदै गएको छ । विवेक गुम्दै गएको छ । पत्रकारिताको बास्तविक मूल्यमा पत्रकारको अनुपस्थिति बढिरहेको छ । 

    श्रोता, पाठक र दर्शकहरुले हाम्रो उपस्थिति कहाँ खोजिरहेको छ ? वा नयाँ सूचना र प्रविधिको अन्तराष्ट्रिय प्रतिस्पर्धामा अबको मिडियाले दिने बास्तविक ‘कन्टेण्ट’ केहो ? यसको खोजी गर्नु जरुरी छ । बढ्दो सामाजिक अपराध र मौलाउँदो भ्रष्ट्रचारको जड कहाँबाट संरक्षण भइरहेको छ ?तर यो जोखिम र चुनौतिमा आजको मिडिया मौनजस्तै छ । सस्तो र औपचारिक कर्ममा समय खर्चेर गम्भीर भ्रष्ट्रचार र अपराधिकरणको हामी साक्षी बसिरहेका छौं । यो नेपाली पत्रकारिताको तीतो सत्य हो । अब हाम्रो पत्रकारिताले कुन कुरालाई प्रोत्साहन गर्ने र कुन कुरालाई निरुत्साहन गर्ने सोच्नुपर्ने बेला आएको छ । 

    हाम्रो गाउँसमाजमा धेरै संघसंस्था र एनजिओले धेरैबर्षदेखि काम गरे । कतिले काम गरे, कतिले काम गरेको केबल अभिनय गरे । समाज उनीहरुको प्रत्यक्ष साक्षी छ । उनीहरुलेयही समाजकोगरिबी देखाएर मागे ।भोक, विभेद, अशिक्षा, स्वास्थ्य, खानेपानी, यावत शीर्षकमा दातृसंस्थाहरुसँग मागे । सुनको किस्तीमा लिएर आएको मकैको रोटी हाम्रो सामाजिक भोकले सहर्ष ग्रहण गर्‍यो । हाम्रो गरिबीले मकैको रोटी खायोहोला तर सुनको किस्ती उनीहरुले नै फिर्ता लिएर गए । हाम्रो गरिबी, अशिक्षा र विभेदको बूई चढेर कर्ताहरु सर्वज्ञ र समृद्ध भए । गरिबीको सेवा गर्ने हिजोका कारिन्दाहरु आज पजेरो चढे ।तर समाज उही गरिबी र अशिक्षाको अँध्यारो छायाँमुनि बसेर एनजिओवालाहरुको भब्य उपस्थितिको आजपनि स्वागत गरिरहेको छ । 

    समाज रुपमान्तरण र गरिबी उन्मुलनको गायत्री बनाएर धेरै संघसंस्थाहरु आजपनि छ्यापछ्याप्ती आइरहेका छन् । सबै एनजिओ आइएनजिओहरुले अहिलेसम्म ल्याएको रकम जोड्ने होभने आजको प्रत्येक नागरिक लखपति हुनेथियो । तर गरिबी उहीँ छ । अशिक्षा उस्तै छ । विभेद जहाँको तहीँ छ । फेरि उनीहरुको फूलवुट्टे प्रचारमा हाम्रो मिडिया किन मुस्कुराईरहेको छ । अब यो विडम्बनाबाट सम्बन्ध विच्छेद गर्नजरुरी छ । यदि यसो हुन सकेनभने भोलिको सचेत नागरिकले कुनैदिन यही मिडियातिर फर्केर माग्नेछ–आफ्नो हिसाव किताव । आफ्नो नाममा आएको लाखौं रुपैयाँ कता गयो ?वा किन मसँग छैन ? त्यतिबेला मिडियाले नागरिकलाई के जवाफ देला † 

    नेपालको पत्रकारिताले कुनैबेला जनताको सर्वोच्चता पुनसर््थापित गर्नुपर्ने थियो । लोकतन्त्र आमसञ्चारको अन्योन्याश्रित सम्बन्धका कारण लोकतान्त्रिक राज्यव्यवस्थाको पक्षपाती भएर बोल्नु मिडियाको पनि आफ्नो स्वार्थ थियो । अहिले लोकतन्त्र प्राप्त भएको छ । नयाँ संविधान निर्माण पश्चात राजनीतिक क्रान्तिको अध्याय लगभग समाप्त भएको छ । अबको नेपाली आमसंचारको लडाई गरिबीविरुद्ध हो । वा मुलुकको आर्थिक समृद्धिका निम्ति हो । यसमा कुनै द्विविधा छैन । तर समाज रुपान्तरणको बहानाबाजी बनाएर कसैले आफ्नो ‘मिशन’मा मिडियालाई साझेदार बनाउन खोज्छभने त्यस्तो विकृतकर्मप्रतिमिडिया सचेत हुनुपर्ने देखिन्छ । एनजिओको व्यानरमा साक्षी बसेर सस्ता गतिविधिहरुलाई मिडियामा बढवा दिनुभन्दा अब उसको कामको संश्लेषण गर्नुपर्ने बेला आएको छ । उसलाई खबरदारी गर्नुपर्ने बेला आएको छ । 

    बास्तवमाआमसंचार र पत्रकारिता आवाजविहीनहरुको आवाज हो । शान्ति, लोकतन्त्र, मानवअधिकार, विधिको शासन र सामाजिक न्यायको सर्वोत्तम हितनै पत्रकारिताको अठोट हो । संकल्प हो । तर आजको पत्रकारितामा लगानी गर्न जुन मान्छेहरु आएका छन् । उनीहरुको अभिष्ट पत्रकारिताको त्यो मूल्यभन्दा बिल्कुलै भिन्न छ । उनीहरु पत्रकारितालाई माध्यम बनाएर आफ्नो सामाजिक अपराधलाई ढाकछोप गर्न चाहन्छन् । राजनीतिक पार्टीका नेता, कालोबजारीकर्ता, ठेकेदार, तस्कर, दलालहरुको दवदवाभित्र आजको पत्रकारिताको बास्तविक सौन्दर्य हराएको छ । तरपनि पत्रकारिताभित्रको त्यो मौलाउँदो कुरुप संस्कृतिलाई हामी आफैले तोड्नुछ । र अबको पत्रकारितालाई बहुसंख्यक नागरिकको प्रतिनिधि आवाजका रुपमा रुपान्तरण गर्नुछ । पत्रकारिताको सन्तुलन बिगार्नेगरि जो कोही पनि  यहाँ लगानी गर्न आउँछभने त्यसलाई अस्वीकार गरौं । आमसञ्चारलाई माध्यम बनाएर समाजमा अफवा फैलाउने कुरुप मनोविज्ञानबाट प्रेरित जुनसकै संघसंस्था, एनजिओ, आइएनजिओलाई निरुत्साहित गरौं । अर्थपूर्ण र समाजपयोगी कामको पक्षमा आफ्नो कलमलाई क्रियाशील बनाऔं । 

http://radiosaligram.com.np/