आज : २०७४ मङ्सिर ८ शुक्रबार|समय : ०९:३०

शालिग्राम खबर

  • कृषि कार्यालयको सार्वजनिक सुनुवाई


    असार ३० पर्वत 
    पर्वतका कृषक तथा सरोकारवालाहरुले स्थानीय तहले पनि कृषिका कार्यक्रमलाई विशेष महत्वका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । कृषि कार्यालयले जस्तै स्थानीय तहले कृषिलाई महत्व नदिने हुन कि भन्ने चिन्ता रहेको कृषकहरुले गुनासो गरेका छन् । 
    कृषि कार्यालय मार्फत सञ्चालन भैरहेका लोकप्रिय कार्यक्रम र अनुदानहरु स्थानीय तहले कटौती गर्न नहुने उनीहरुले माग गरेका छन् । सरोकारवाला प्रतिनिधीहरुले स्थानीय तहमा अहिले वजेट नीति तथा कार्यक्रम सार्वजनिक भैरहेको बेला कृषिका कार्यक्रमहरु ओझेलमा पर्ने हुन कि भन्ने सर्वत्र चिन्ताको विषय बनेकोले स्थानीय तहले कृषिलाई वढि महत्व दिनुपर्नेमा जोड दिएका हुन् । 
     
    पर्वतमा जिल्ला कृषि विकास कार्यालयले वार्षिक रुपमा सञ्चालन गरिरहेका कार्यक्रमहरुको वारेमा आज सार्वजनिक सुनुवाइमा यस्तो चिन्ता व्यक्त गरिएको हो । उक्त अवसरमा कृषि कार्यालयले सञ्चालन गरेको आर्थिक वर्ष २०७३÷०७४ का नीति तथा कार्यक्रम र त्यसले कृषि क्षेत्रमा देखिएका उपलव्धि र समस्याहरु सार्वजनिक गरिएको छ । 

    कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले वार्षिक कार्यक्रमहरु प्रस्तुत गर्नुभयो । रेग्मीले पर्वतमा व्यवसायिक कृषित र्फ यूवाहरुको आकर्षण वढेको वताउनुभयो । उहाँले पछिल्लो समय प्रधानमन्त्री आधुनिकरण कृषि परियोजना सञ्चालन भएपछि कृषि क्षेत्रमा राम्रो संभावनाको ढोका खुलेको दावी गर्नुभयो । यो आर्थिक वर्ष सकिँदा कृषिले ९५ दशमलव ६ प्रतिशत वित्तिय प्रगति गरेको उहाँले वताउनुभयो । चालु वर्षमा तरकारी खेती, सुन्तला, अलैँची, माछापालन, मौरीपालन जस्ता कार्यक्रममा यूवाहरुको सबैभन्दा वढि आकर्षण रहेको छ । 

    प्रधानमन्त्री आधुनिकरण कार्यक्रम अन्तर्गत तरकारी, सुन्तला, मकै खेती विस्तारमा कृषि कार्यालयले जोड दिएको रेग्मीले वताउनुभयो । अनुदानका कार्यक्रम पनि प्रभावकारी वनेको तर विमामा भने कृषकहरुको खासै आकर्षण नरहेको पाइएको छ । सुन्तलाको विरुवामा पर्वतलाई अर्को वर्षदेखि आत्मानिर्भर वनाउने कृषि कार्यालयले लक्ष्य लिएको छ । सुन्तलाका लागि वढि मात्रामा अनुदानका कार्यक्रम सञ्चालन भैरहेका छन् । यसै आर्थिक वर्षमा ५ वटा सुन्तलाको पकेट क्षेत्र र ३ वटा सुन्तला नर्सरी स्थापना गरिएको छ । 

    जिल्ला कृषि समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति खिमप्रसाद भुसाल, नेकपा एमालेका जिल्ला कमिटिका उपसचिव गोविन्द पहाडी, राप्रपाका जिल्ला अध्यक्ष ईश्वर गिरी, कुश्मानगरपालीकाका उपमेयर सिता काफ्ले लामिछाने सहित कार्यक्रममा सहभागि कृषकहरुले कृषि क्षेत्रको विकास र संघिय संरचनामा कृषि सेवाको स्वरुपका बारेमा वोल्नुभएको थियो । स्थानीय तहले कृषिलाई प्राथमिकता दिएर वजेट विनीयोजन गर्नुपर्ने सहभागिहरुले वताएका छन् ।
     

http://radiosaligram.com.np/