आज : २०७४ कार्तिक २ बिहीबार|समय : ०९:१२

खेलकुद

  • साफ यू-१५ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

    काठमाडौ । नेपाल र भारत आज साफ यू(१५ च्याम्पियनसिपको फाइनलमा भिड्दै छन् । साफले आयोजना गर्दै आएको यू(१६ च्याम्पियनसिप चौथो संस्करणसम्म आइपुग्दा नेपालको यात्रामा पूर्णविराम लगाउने भारत एक्लो टोली बनेको छ ।

    नेपालले अहिलेसम्म एकपटक फाइनल यात्रा तय गरेको छ भने भारत चारपटक फाइनलमा पुगेको छ । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुँदैछ ।

    पहिलो संस्करणको सेमिफाइनलमा भारतले नेपाललाई पेनाल्टी सुटआउटमा हराएको थियो भने दोस्रोमा नेपाल फाइनलमा १(० ले हार्‍यो । पछिल्लो संस्करणमा नेपालले सेमिफाइनलमा १(० ले नतिजा सुम्पिएको थियो । यसपटक यू(१५ उमेर समूहमा परिवर्तित गरिएको प्रतियोगिताको फाइनलमा फेरि नेपाल र भारत उपाधिका लागि भिड्दैछन् ।

    यसपटक समूह चरणमा भारतले नेपाललाई पराजित गरिसकेको छ । तर, नेपालका प्रशिक्षक सुनील श्रेष्ठले फाइनललाई महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् । ‘हामी उपाधि जित्नकै लागि मैदानमा उत्रने छौं । उपाधि जित्ने र भारतसँग बदला लिने अवसर जुरेको छ । खेलाडीहरूले पनि निरन्तर प्रदर्शनमा सुधार ल्याइरहेका छन्,’ उनले भने, ‘भारत निकै राम्रो टोली हो । पछिल्लो खेलमा पनि हामी भारतसँग पराजित भइसकेका छौं । तर फाइनल भने हामी बेग्लै उत्साहका साथ खेल्नेछौं ।’

    प्रशिक्षक श्रेष्ठले समूह चरणमा हार्दा गरेको गल्ती सुधार्ने लक्ष्य राखेका छन् । ‘समूह चरणमा हाम्रो रणनीति सफल हुन सकेन । तर, सेमिफाइनल नतिजाले  टोलीको मनोबल बढेको छ । फाइनलमा हाम्रो योजनाहरू सफल हुन्छन् भन्ने आस छ,’उनले भने ।

    प्रतियोगितामा भारतले सबै खेल जितेको छ । भुटानलाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो उपाधिको लक्ष्य राखेको भारतले प्रतियोगितामा १४ गोल गर्दै १ गोल मात्र खाएको छ । भारतीय प्रशिक्षक बिबियानो फर्नान्डेजले अपराजित रहेर उपाधि जित्ने लक्ष्य राखेका छन् । ‘कुनै पनि टोलीलाई लगातार दुईपल्ट पराजित गर्न गाह्रो हुन्छ । प्रतियोगिता अवधिभर गरेको राम्रो प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिन्छौं । यद्यपि नेपालले राम्रो चुनौती दिने आस राखेको छु,’ उनले भने, ‘फाइनलमा दुवै टोली उपाधि जित्न उत्रन्छन् । त्यसमा एक टोली सफल हुन्छ । पछिल्लो खेलको तुलनामा फाइनल फरक हुनेछ ।’

    पहिलो संस्करण पाकिस्तानले जित्दा दोस्रो उपाधि भारतको नाममा रह्यो । तेस्रो संस्करणमा आयोजक बंगलादेशले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जित्यो ।

http://radiosaligram.com.np/