आज : २०७४ कार्तिक २ बिहीबार|समय : ०९:१३

अन्तरास्ट्रिय

  • हिलारी क्लिन्टन भन्छिन्ः उम्मेदवारी दिन पुग्यो तर राजनीति छोड्दिनँ

    सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धेरैले सोचेका थिए, हिलारी क्लिन्टन अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन्। तर त्यसो भएन। राजनीतिमा भर्खरै छिरेका डोनाल्ड ट्रम्पले आश्चर्यजनक रुपमा चुनाव जिते। पराजयको १० महिनापछि आएर हिलारी क्लिन्टनले आफू राजनीतिमा अझै लागिरहने बताएकी छन्। यद्यपि आउँदो चुनावमा राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावनालाई भने उनले नकारेकी छन्।

    ‘उम्मेदवार हुन मलाई पुग्यो,’ अमेरिकी टेलिभिजन च्यान सिबिएसको सन्डे मर्निङ कार्यक्रममा अन्तर्वार्ता दिँदै हिलारीले भनिन्, ‘तर राजनीति गर्न पुगेको छैन किनभने हाम्रो देशको भविष्य दाउमा लागेको छ भन्ने कुरामा म पूर्णतः विश्वस्त छु।’

    उनले आफूले परम्परागत रुपमा चुनाव लडेको तर ट्रम्पले भने त्यसलाई ‘रियालिटी शो’ का रुपमा लिएको उनले बताइन्।

    ट्रम्पसँगको हारले आफूलाई अझै पीडा दिइरहेको उनले स्वीकारेकी छन्।

    ‘म ठीक छु तर त्यसको अर्थ जे भयो त्यसबाट म सन्तुष्ट छु भन्ने होइन। यसले मलाई अझै पीडा दिइरहन्छ, धेरै नै,’ उनले भनिन्।

    चुनाव हारेपछि आफूले सबैलाई तल पारेको महसुस भएको क्लिन्टनले बताइन्। पराजय स्वीकार गर्दै आफूले दिएको मन्तव्य आफैँले नलेखेको पनि उनले खुलासा गरिन्। ‘पराजय भाषण मैले लेखेकी थिइनँ,’ उनले भनिन्, ‘मैले त विजय भाषणको तयारी गरेकी थिएँ।’

    त्यस्तै राष्ट्रपति ट्रम्पको सपथग्रहण समारोहमा जानेनजाने बारे आफू निकै दुविधामा परेको खुलासा पनि क्लिन्टनले गरेकी छन्। पराजित उम्मेदवार सपथग्रहणमा जानैपर्छ भन्ने नभएपनि आफू प्रथम महिला भएकोले त्यहाँ गएको उनले बताइन्। ‘हाम्रो सरकारको निरन्तरताको प्रदर्शन पनि थियो यो,’ उनले भनिन्, ‘त्यसैले म त्यहाँ शरीर र मन अलग भएजस्तो महसुस गर्दै गएँ।’

    आफू विदेशमन्त्री छँदा व्यक्तिगत इमेल प्रयोग गर्नु नै आफ्नो सबैभन्दा ठूलो गल्ती भएको उनले बताएकी छन्।

    ‘मलाई लाग्छ, व्यक्तिगत इमेल प्रयोग गर्नु मेरो गल्तीमध्ये सबैभन्दा महत्वपूर्ण थियो,’ क्लिन्टनले भनिन्, ‘मैले यो कुरा पहिले पनि भनेको छु, फेरि पनि भन्छु, त्यो मेरो जिम्मेवारी थियो। त्यसलाई यस्तो नकारात्मक तरिकाले प्रस्तुत गरियो, यसको छायाँबाट म कहिल्यै निस्किन सकिनँ र यो कहिल्यै रोकिएन।

    ‘२०१६ मा जे कुराले काम गरेका थिए, तिनलाई हामीले कहिल्यै देखेका र पढेका थिएनौँ। यो एउटा आँधी थियो,’ उनले भनिन्।

    उनले हालै चुनावी अभियान र पराजयलाई समेटेर ‘ह्वाट ह्याप्पेन्ड’ शीर्षकको संस्मरण लेखेकी छन्। ‘मैले काम फत्ते गर्न सकिनँ र यसलाई बोकेरै मैले बाँकी जीवन बाँच्नुछ,’ सेप्टेम्बर १२ मा प्रकाशित हुने संस्मरणमा उनले लेखेकी छन्। एजेन्सी

http://radiosaligram.com.np/