आज : २०७४ कार्तिक २ बिहीबार|समय : ०९:१२

अन्तरास्ट्रिय

  • ‘आतंकवादविरुद्ध कडा सुरक्षा रणनीति’

    आश्विन २०, २०७४-अस्ट्रेलियाले विश्वमा बढिरहेको आतंकवादी आक्रमणसँगै आफ्नो सुरक्षा रणनीतिलाई अझ दरिलो बनाउने कदम चालेको छ । प्रधानमन्त्री माल्कम टर्नबुलले अनुहार पहिचान गर्न सक्ने प्रविधिको प्रयोग गरी आतंकवादविरुद्धको अभियानलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् । 

    सुरक्षा रणनीतिबारे छलफल गर्न सबै राज्यका प्रिमियर तथा मुख्यमन्त्रीको बिहीबार क्यानबेरामा महत्त्वपूर्ण बैठक समेत भएको छ । सवारी चालक अनुमति पत्रलाई पहिचानका रूपमा प्रयोग गरी आतंकवादसँग सम्बन्धित व्यक्तिको सहज पहिचान गर्न सकिने प्रविधिलाई प्रयोगमा ल्याइने भएको छ । यो प्रविधिमा आधारित रहेर यहाँका विमानस्थल र सुरक्षा संयन्त्रमा अनुहार पहिचान गर्न सक्ने उपकरण आउँदो 

    वर्षको सुरुवातसम्ममा प्रयोगमा ल्याइने बताइएको छ । आतंकवादको मुद्दामा सजाय भोगिसकेका व्यक्तिलाई पनि सुरक्षा निकायले आवश्यक ठानेमा न्यायाधीशको अनुमतिमा पुन: बिनाकुनै कसुर दुई सातासम्म हिरासतमा लिन सक्नेछन् । अस्ट्रेलियाका विभिन्न राज्यमा यस सम्बन्धमा अलगअलग कानुन भए पनि प्रधानमन्त्री टर्नबुलले ती कानुनलाई प्रतिस्थापन गर्ने गरी नयाँ नियम ल्याउन लागेको बताएका छन् । टर्नबुलले राष्ट्रिय सुरक्षाका लागि आफू अत्यन्तै गम्भीर रहेको बताएका छन् । उनले आतंकवादसँग सम्बन्ध राख्ने कुनै पनि किसिमका सन्दर्भ सामग्री राख्न पनि गैरकानुनी हुने कानुन निर्माण गरिने जनाए । 

    दोस्रो ठूलो राज्य भिक्टोरियाले करिब दुई साताअघि प्रतिआतंकवाद सुरक्षा संयन्त्रको घोषणा गरेको थियो । सहायक कमान्डर रस गुवेन्थरको कमान्डमा रहने यसले अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा काम गर्ने तर आतंकवादी गतिविधिलाई निष्तेज पार्ने मुख्य उद्देश्यका साथ खटिने बताइएको छ । 

    विश्वका विकसित देशहरूमा आतंकवादी आक्रमण बढेसँगै अस्ट्रेलियाले समेत सुरक्षा रणनीतिलाई दरिलो बनाउँदै लगेको हो । अहिलेसम्म ठूलो आतंकवादी गतिविधि नभए पनि छिटफुट रूपमा अस्ट्रेलियामा समेत आतंकवादी आक्रमणका प्रयास भएका छन् । केही समयअघि मात्र सिड्नीमा एक जहाजमा बम राखेर आतंकवादी आक्रमण गर्न गरिएको प्रयास सुरक्षा निकायले विफल बनाएको थियो । 

http://radiosaligram.com.np/