आज : २०७४ माघ ९ मंगलबार|समय : १२:०३

शालिग्राम खबर

  • भेटिएनन् नवराज सिलवाल ! अब के हुन्छ ? 

     

    काठमाडौं । ललितपुर प्रहरीले पूर्व डीआईजी तथा सांसद नवराज सिलवाल फेला नपरेको पत्र काठमाडौं प्रहरी परिसरलाई पठाएको छ । कार्यसम्पादन मूल्यांकन फारम किर्ते गरेको अभियोगमा पूर्व डीआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाललाई छानविनका लागि उपस्थित गराउन काठमाडौं प्रहरी परिसरले ललितपुरलाई पत्र पठाएको थियो ।

    तर ललितपुर प्रहरीले घरमै पुगेर खोज्दासमेत नभेटिएको भन्दै पत्रमार्फत नै काठमाडौं प्रहरी परिसरलाई  जानकारी गराइएको ललितपुरका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

    सर्वोच्च अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवालमाथि सोधपुछ र बयानका लागि भन्दै १९ गते नै पत्र काटेको थियो ।

    सर्वोच्च अदालतको आदेशपछि सरकारी छाप किर्तेमा जाहेरी दर्ता गराइएको थियो । 

    यस सम्बन्धमा सिलवालसँग पनि सोधपुछ गर्नुपर्ने भएकाले ललितपुर प्रहरीलाई उपस्थित गराउनू भन्ने पत्र पठाइएको काठमाडौं प्रहरी परिसरले जानकारी गराएको छ ।
    तर सिलवाल कार्यक्रममा भाग लिन मलेसिया पुगेको बताए पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । ललितपुर प्रहरीले सिलवालको घर ठेगानाअनुसार उनी फेला नपरेको पत्रमार्फत जानकारी गराएको छ ।

    प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा सरकारले गरेको बढुवा नियमसंगत नभएको भन्दै सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चमा उनले बुझाएको कार्यसम्पादन मुल्यांकन किर्ते गरिएको ठहर सर्वोच्चले गरेको छ ।

    सर्वोच्चले जसले किर्ते गरेको भए पनि अनुसन्धान अघि बढाउनू भन्ने आदेश दिएपछि प्रहरीले यस सम्बन्धमा छानविन अघि बढाएको हो ।

    अब के हुन्छ ?

    नवराज सिलवाल नभेटेको भन्दै ललितपुर प्रहरीले पत्र पठाएको भए पनि अनुसन्धान नरोकिने काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ ।

    “यो कुनै हदम्यादको मुद्दा होइन,” स्रोतले भन्यो, “नवराज सिलवाललाई खोज्ने काम जारी रहन्छ र राख्नुपर्छ । हामीले ललितपुर प्रहरीलाई जहिले भेटे पनि खोजेर पठाइदिनू भनेका छौं ।”

    अनुसन्धानमा संलग्न डीएसपी बेलप्रसाद पाण्डेले पनि अनुसन्धान प्रक्रिया जारी रहेको बताउँदै अहिले नभेटे पनि भेट्नासाथ पठाउनुपर्ने बताए । उनले जहिले भेटे पनि खोजेर पठाउनू भन्ने निर्देशन रहेको जानकारी दिए ।
     

http://radiosaligram.com.np/