आज : २०७५ असार ७ बिहीबार|समय : १०:०८

शालिग्राम खबर

  • काँग्रेस केन्द्रीय सदस्य जोशीद्वारा केही आयोजनाहरुको अनुगमन आफूले शुरुवात गरेका सबै विकास र पूर्वाधारहरुलाई निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता

    पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले आफू जनप्रतिनिधि नरहँदा पनि आफूले शुरुवात गरेका विकास आयोजना तथा पूर्वाधारहरुलाई निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  नेता जोशीले वुधवार र विहीवार पर्वतमा आफूले शुरुवात गरेका केही आयोजनाहरुको कार्य मूल्याङ्कन तथा अनुगमन गर्दै निर्माणाधिन ती आयोजनाहरुको कामको गुणस्तरीयता र कार्य प्रगतिको जानाकारी लिँदै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले वुधवार र विहीवार घुम्ती–लाम्पाटा सडक अन्तरगत पर्ने रिठ्ठे खोलामा  निर्माणाधिन पुलका साथै सहश्रधारा–पाङ सडक, वारिवेनी–कालीगण्डकी तटबन्ध र लुङ्दीखोलाको तटबन्धका साथै वेनी–मल्लाज सडकको अवलोकन गर्नुभएको थियो । 
    नेता जोशीले आफ्नो पहलमा घुम्ती–लाम्पाटा सडकका लागि  हालसालै मात्र अर्थमन्त्रालयबाट ४८ करोड रुपैयाँ विनियोजन भएको जानाकारी दिनुभयो । यसअघि उहाँकै पहलमा आर्थिकबर्ष ०७२/०७३ मा सोही सडकका लागि सातकरोड विनियोजन भएको थियो भने त्यही सडक अन्तरगत रिठ्ठेखोलामा निर्माणाधिन पुलका लागि तीन करोड र खहरेखोलाको पुलका लागि ७० लाख विनियोजन भएको थियो । त्यसैगरि लुङ्दीखोला तटबन्धका लागि क्रमागत योजना अन्तरगत एककरोड र वारिवेनी कालीगण्डकी तटबन्धका लागि अहिलेसम्म साढे चारकरोड रकम विनियोजन भइ काम भइरहेको छ । त्यस्तै वेनी– मल्लाज सडकका लागि अघिल्लो आर्थिक बर्षमा पाँचकरोड विनियोजन भइ काम भएकोमा अहिले उक्त सडकलाई लेकफाँट सम्म जोड्नेगरि २० किमि सडकको डिपिआर सम्पन्न भएको नेता जोशीले जानाकारी दिनुभयो  । त्यस्तै सहश्रधारा–पाङ सडकको कालोपत्रेका लागि  उहाँकै पहलमा ५० लाख विनियोजन भइ काम भएको छ । 
    नेता जोशीले आफ्नो पहलमा भइरहेका सबै विकास र पूर्वाधारहरुलाई निष्कर्षमा पुर्‍याउन ती आयोजनाहरुको अनुगमन गरेको जानाकारी दिनुभयो । ‘मैले शुरुवात गरेका  सबै विकासका आयोजनाहरुको काम कसरी भइरहेको छ हेर्छु र कार्य प्रगतिको मूल्याङ्कन गरि ती आयोजनाहरु सम्पन्न गर्न म निरन्तर लाग्छु, यो मेरो अठोट हो ।’–नेता जोशीले भन्नुभयो । उहाँले निर्माणाधिन आयोजनाको दीगोपना र गुणस्तरीयताका लागि निर्माण कम्पनि तथा ठेकेदारहरुलाई समेत सचेत गराएको वताउनु भयो । ‘बजेट विनियोजन हुनु मात्रै ठूलो कुरा होइन, काम कसरी भइरहेको छ र त्यो कामबाट लाभग्राहीहरु कत्तिको सन्तुष्ट छन् भनेर पनि म अहिले आयोजनाहरुको अनुगमनमा आएको हुँ ।’– जोशीले भन्नुभयो । उहाँले आफू अहिले जनप्रतिनिधि नभएपनि जनताका प्रतिको आफ्नो जिम्मेवारी र पर्वतको विकासका प्रतिको निरन्तरतामा कुनै कमी नआउने वताउनु भएको छ । नेता जोशी विगत अठार बर्षमा पर्वतको जनप्रतिनिधि हुँदा आफूले गरेका विकासका सबै कामहरुको श्वेतपत्र जारी गर्ने तयारीमा हुनुहुन्छ । श्वेतपत्रमा विगतमा आफ्नो पहलमा भएको जिल्लाको विकास र पूर्वाधारहरुको सूची समावेश हुने वताइएको छ । धौलागिरी अञ्चलमै सबैभन्दा बढि विकास गर्ने नेता भएर पनि नेता जोशीले आफूले गरेका कामको प्रचार गर्न नसक्दा यसपालिको प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट पराजित हुनुपरेको थियो । उहाँले २०५६ सालबाट २०७४ मंसीरसम्म पर्वतमा निरन्तर जनप्रतिनिधिका रुपमा काम गर्दै आउनु भएको थियो ।  
     

http://radiosaligram.com.np/