आज : २०७५ जेठ ११ शुक्रबार|समय : ०२:२४

शालिग्राम खबर

  • बम राखेर आतंकित पार्ने समूहप्रति केन्द्रीय सदस्य जोशीद्वारा विरोध


    पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को गाडीमा बम राखेको घटनाको साथै स्थानीय व्यवसायी बाबुराम कार्की र शिव घर्तीको जेसिवीमा आगो लगाइएको घटनाको घोर भत्सर्ना गर्नुभएको छ । काँग्रेस नेता जोशीले आज एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै ती दुवै घटनाको विरोध गर्नुभएको हो । उहाँले कुनैपनि समस्या भए संवाद र छलफलबाट समाधान खोज्नुपर्नेमा हिंसा र अराजकताको बाटो रोज्ने व्यक्ति वा समूह जो भएपनि त्यसलाई कार्वाहीको दायरामा ल्याएर कार्वाही गर्न सरकारसँग माग गर्नुभएको छ । 

    नेपाली काँग्रेस शान्ति, लोकतन्त्र र मानव अधिकारको पक्षपाती पार्टी भएको उल्लेख गर्दै केन्द्रीय सदस्य जोशीले विधि र पद्धतिमा विस्वास गर्न सबैलाई आग्रह गर्नुभएको छ । ‘हामी कुनैपनि समस्याको समाधान हिंसा र अराजकताबाट नभएर संवाद र छलफलबाट खोजिनुपर्छ भन्ने मान्यतामा प्रतिवद्ध छौं । त्यसैले पनि अब विधिसम्मत राज्य र सबै नेपालीको समृद्धि हाम्रो चाहना हो ।’– तर पछिल्ला केही दिनमा समाजमा अशान्ति फैलाउने र जनतालाई आतंकित बनाउने खालका गतिविधिहरु बढ्दै गएको खबरले हामी गम्भीर भएको छौं ।’– जोशीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेता जोशीले नागरिकको सुरक्षा गर्नु र समाजमा शान्ति स्थापना गर्नु राज्यको प्रमुख दायित्व भएकोले त्यस्ता प्रकारका घटनाप्रति राज्यलाई सजक र सचेत हुन आग्रह गर्नुभएको छ । 
    काँग्रेस कोषाध्यक्ष मल्लको बा१६च २५२६ नम्बरको गाडीमा प्रेसर कुकुर बम राखिएको थियोभने जलजला गाउँपालिका वडा नम्बर ८ स्थित कालीगण्डकी नदीनजिकै रहेको बाबुराम कार्की र शिव घर्तीको ग१क ३६३७ नम्बरको जेसिबीमा आगो लगाइएको थियो । मल्लको गाडीमा राखिएको बमलाई नेपाली सेनाले निष्कृय पारेको छभने अपराधमा संलग्न  व्यक्तिको खोजी भइरहेको पर्वत प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।  
     

http://radiosaligram.com.np/