आज : २०७५ बैशाख ८ शनिबार|समय : ०३:४६

स्वास्थ्य

  • पर्वतमा क्षयरोगका विरामी बढे

    चैत्र ११, पर्वत ।।जनचेतना फैलाउन राज्यले लाखौँ लगानी गरेपनि पर्वतमा क्षयरोगीको संख्या अपेक्षित रुपमा घट्न सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्वतमा गत बर्ष १०० जनामा क्षयरोगको प्रकोप देखापरेको थियो । हाल यो रोगका ५६ जना नयाँ विरामी बढेका छन् । जसमा दुइ बालबालिका, २७ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका क्षयरोग निवारण शाखाका फोकल पर्सन जनार्दन गिरीले बताउनुभयो ।
    जिल्ला स्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरु संग गरेको अन्तरक्रियामा क्षयरोगको अवस्था र न्युनिकरणमा थालिएको अभियानको बारेमा जानकारी दिइएको थियो । उक्त अवसरमा जिल्लाको दक्षिण क्षेत्रमा क्षयरोगका विरामी बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकांश विरामीहरु विहादी गाउँपालिकाका रहेको कार्यालयले जनाएको छ । 
    मोदी गाउँपालिका र जलजला गाउँपालिककाले जनस्वास्थ्यमाथि खेलवाड गरेको पनि उक्त अवसरमा जानकारी दिइएको छ । आफ्नो गाउँपालिकामा क्षयरोग परीक्षाणको लागि आवश्यक माइक्रोस्कोपी सेन्टर नराख्दा विरामीको पहिचान हुन नसकेको कार्यालयका फोकल पर्सन गिरीले जानकारी दिनुभयो । अन्य नगर तथा गाउँपालिकामा क्षयरोग निवारणा र रोग पहिचानको लागि सेन्टर रहेको छ । रोग लुकाउने संस्कार अहिलेपनि समाजमा रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
    औषधीको सेवन समेतमा पनि विरामीहरुले लापरवाहि गर्ने गरेका छन् । औषधी सेवन गर्दा गर्दै बिचमै औषधी छाड्दा रोगको उपचारमा समस्या आउने गरेको जनस्वास्थ्य अधिकृत सजिना महर्जनले बताउनुभयो । नियमित औषधी सेवन गरेमा यो रोग निको हुने भएपनि औषधी खाँदै छोड्दै गरेमा निको हुन समय बढि लाग्ने गरेको छ । क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई असर पार्ने गर्छ ।
    क्षयरोग एक सरुवा रोग हो । हाच्छ्यिुँ गर्दा, खोक्दा पनि यसको जिवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन् । यी लक्षण हेरेर क्षयरोग लागेको थाहा पाउन सकिन्छ ।
     

http://radiosaligram.com.np/