आज : २०७५ असार ७ बिहीबार|समय : १०:०५

शालिग्राम खबर

  • एमाले–माअाेवादी एकता घोषणा वैशाख ९ मा

    काठमाडौँ — वाम एकता संयोजन समितिले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी अन्तिम तयारी गर्न एमाले र माओवादी केन्द्रलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले दुवै दललाई वैशाख ९ मै एकता घोषणा गर्ने तयारी अघि बढाउन भनेको हो । लेनिनको जन्मजयन्ती अप्रिल २२ को अवसर पारेर २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । त्यसयता विभिन्न कालखण्डमा चिराचिरा परेको कम्युनिस्ट पार्टीका मूलधार एकताबद्ध भएको सन्देश दिन एकता घोषणाका लागि अप्रिल २२ नै उपयुक्त हुने दुवै दलले ठहर गरेका हुन् । एकताको प्राविधिक तयारी गर्न गठित समितिले पनि अप्रिल २२ लाई नै उपयुक्त भनी सिफारिस गरेको थियो । ‘दुवै कार्यदलले दिएको सुझावअनुसार वैशाख ९ गते नै घोषणा गर्ने गरी आ–आफ्ना दलका तर्फबाट तयारी बढाउन भनिएको छ,’ समितिका सदस्य एवं माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । कार्यदलले तयार गरेका दुवै प्रतिवेदन सकारात्मक रहेकाले त्यही आधारमा एकता गर्न सकिने निष्कर्ष समितिको छ । दुवै दलबीच एकताका विषयमा मिल्न बाँकी विषयलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारतबाट फर्केपछि टुंगो लगाइने समझदारी भएको छ । ओलीको भ्रमणलगत्तै एकता संयोजन समितिको बैठक बस्नेछ । दुवै दलबीच तीनवटा विषय टुंगो लाग्न बाँकी छ । पार्टीको दस्तावेज र विधानमा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने, चुनाव चिह्न ‘सूर्य’ नै राख्ने कि परिवर्तन गर्ने, एकीकृत पार्टीको केन्द्रीय समितिमा एमाले र माओवादी पक्षबाट कतिरकति जना सम्मिलित गराउने भन्ने विवाद बाँकी छ । कार्यदलस्तरमा यी विषय मिल्न नसकेपछि एकता संयोजन समितिबाटै टुंगो लगाउने गरी प्रतिवेदन तयार गरिएको हो ।

http://radiosaligram.com.np/