आज : २०७५ श्रावण ५ शनिबार|समय : ०४:१४

शालिग्राम खबर

  • कांग्रेसको चुनावी समीक्षा बैठकमा लिखित प्रस्तावको ओइरो, कसको प्रस्तावमा के छ ?  

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा लिखित प्रस्तावको ओइरो लागेको छ ।

    बैठक शुरु भएको ११ औं दिनसम्म आइपुग्दा बैठकमा पार्टी सभापति शेरबहादुर देउवा समक्ष ६ वटा लिखित धारणा पेश भएका छन् । गत चैत ९ गते शुरु भएको बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिँहले पहिलो लिखित धारणा प्रस्तुत गरेका थिए । 
    चैत १० मा केन्द्रीय सदस्य नरहरि आचार्य, १२ मा केन्द्रीय सदस्य डा. शेखर कोइराला र डा. डिला संग्रौला, वैशाख ११ मा गगन थापा र नवीन्द्रराज जोशीले छुट्टाछुट्टै लिखित प्रस्ताव पेश गरेका हुन् । 

    केन्द्रीय सदस्य थापाले सभापति देउवालाई बुझाएको लिखित प्रस्ताव ७ जना र जोशीले बुझाएको लिखित प्रस्तावमा १५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । 

    थापाले प्रस्तुत गरेको प्रस्तावमा थापासँगै चन्द्र भण्डारी, धनराज गुरुड, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र जीवन परियारले हस्ताक्षर गरेका छन् । ५१ पृष्ठ लामो उक्त प्रस्तावमा संविधानपछिको असन्तुष्टिको सम्बोधन, भारतीय नाकाबन्दीमा मौन रहनु, संविधान निर्माणपछि सरकार गठनमा देखिएको कमजोरी लगायतका विषय प्रतिवेदनमा उठान गरिएको छ ।

    प्रतिवेदनमा तत्काल महासमितिको बैठक बोलाउनुपर्ने र त्यसलगत्तै १४ औं महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्नुपर्ने उल्लेख छ । ‘‘महासमिति सकेलगत्तै १४ औं महाधिवेशनको तालिका बनाएर काम गर्नुपर्छ’’, प्रतिवेदनमा भनिएको छ, ‘‘०४८ साल यता जसरी विचार र संगठनमा ढोका बन्द भए त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको छ ।’’

    प्रतिवेदनमा अब कम्युनिष्ट गठबन्धन के होला भनेर कुर्ने अवस्था नभएको उल्लेख छ । 

    ‘‘अब कम्युनिष्टको गठबन्धन के होला भनेर नकुरौं, ५ वर्षपछिको चुनावमा यस्तो अवस्था बनाऔं सबै पार्टी एक ठाउँमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउने छौ,’’ प्रतिवेदनमा भनिएको छ ।

    केन्द्रीय सदस्य जोशीले बुझाएको प्रस्तावमा जोशीसहित केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्न शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, किरण यादव र सरिता प्रसाईले हस्ताक्षर गरेका छन् । 

    उनीहरुले चुनावी समीक्षा बैठकमा निर्णयार्थ प्रस्तुत गरिदिन माग नौ बुँदे लिखित प्रस्ताव पेश गरेका हुन् । 

    प्रस्तावमा आगामी जेठ ११ भित्र महासमितिको साधारण बैठक सम्पन्न हुन सक्ने गरी मिति र स्थान तोकिनु पर्ने, विधान विपरित गठन भएको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति खारेज गरिनुपर्ने, केन्द्रीय निर्वाचन समिति गठन गरिनुपर्ने लगायतका माग गरिएका छन् । 

    १२ गते कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि जारी केन्द्रीय कार्यसमिति बैठकमा लिखित धारणा प्रस्तुत गरेका थिए । बैठकमा लिखित धारणा पेश गर्ने मध्ये प्रवक्ता शर्मा र डा. संग्रौला संस्थापन पक्षीय केन्द्रीय सदस्य हुन् भने अन्य लिखित धारणा बुझाउने केन्द्रीय सदस्यहरु वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहमा आवद्ध छन् । 

    प्रवक्ता शर्माले ‘‘कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोडम्याप’’ शिर्षक राखेर बैठकमा प्रस्तुत गरेको लिखित धारणामा आफूहरु बदलिएर कांग्रेस पनि बदल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  उनले कांग्रेस पराजयका ६ कारण, कांग्रेस रुपान्तरणका लागि १३ वटा लक्ष्य, ३ दर्जत प्रकृया तथा त्यसवाट हासिल हुन सक्ने १३ वटा परिणामहरुको टिपोट बैठकमा छलफलका लागि बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।
    बैठकको शुरुवातमै कांग्रेसका पूर्वमहामन्त्री एवम् नेता प्रकाशमान सिंहले सभापति देउवाले अप्रजातान्त्रिक र अराजक शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाएका थिए् ।

    केन्द्रीय समितिको बैठकमा सभापति देउवालाई लिखित सुझाव बुझाउँदै नेता सिँहले कांग्रेसको इतिहासमा पार्टीको विधानलाई यसरी निर्ममतवरले स्वयम् पार्टी सभापतिले उलंघन गरी स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गरेको घटना विगतमा नभएको उल्लेख गरेका थिए ।
    ‘‘वर्तमान पार्टी सभापतिजीले नेपाली काँग्रेसको विधानलाई पुरै वेवास्ता गरेर अप्रजातान्त्रिक एवम् अराजक शैलीमा पार्टी सञ्चालन गरी रहनुभएको छ भन्ने मेरो ठहर रहेको छ,’’ सिँहले भनेका छन् । उनले भागबण्डाको संस्कृतिलाई झनै मौलाउन दिएको आरोपपनि सभापतिसमक्ष राखेका छन् । 

    ‘‘नेपाली कांग्रेसभित्र कायम रहेको कथित ६०/४० को  भागवण्डालाई समाप्त गरेर सबैलाई समेटेर पार्टीलाई एक बनाएर लग्छु भन्ने अठोटका साथ १३ औं महाधिवेशनबाट पार्टी सभापति बन्नुभएका वर्तमान सभापतिले पार्टी सञ्चालनको यो २ वर्षको अवधिमा पार्टीलाई एकतावद्ध बनाएर संगठित बनाउनुको वदला गुटलाई नै प्रश्रय दिएको कारण पार्टी इतिहास कै सबै भन्दा कमजोर स्थितिमा आएको मुद्धा समीक्षाको विषय बन्ने कि नवन्ने ?’’ उनले प्रश्न गरेका छन्, 

    नेता सिँहले अगाडि लेखेका छन्, ‘‘पार्टीका कार्यकर्तालाई विभिन्न राजनीतिक नियुक्ति र विभिन्न तहमा टिकट वितरण गर्दा वरिष्ठता, योगदान, योज्ञता र क्षमता आदिको विल्कुलै पर्वाह नगरी गुटगत आधारमा आफ्ना निकट व्यक्तिहरूलाई बढि अवसर दिएर इमान्दार र योज्ञलाई पाखा लगाएको कारणबाट निर्वाचनमा के कति असर गर्यो भन्ने विषयमा गंभीर रूपमा विचार विमर्श र अध्ययन गर्न जरूरी छ ।’’

    मस्तिष्क पक्षघातबाट थला परेका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य लामो समयपछि गत चैत १० गते बसेको समीक्षा बैठकमा सहभागि भएका थिए । बैठकबाट बाहिरिने क्रममा नेता आचार्यले आफूलाई कांग्रेसको सदस्यको जिम्मेवारी बोध भएर नै समीक्षा बैठकमा उपस्थित भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । 

    ‘‘पार्टीले चुनावको समीक्षा गर्दै गर्दा मलाई पनि जिम्मेवारी बोध भएको छ । पहिले बिरामीको मात्रै बोध हुन्थ्यो, अहिले  बिरामीभन्दा पार्टीको सदस्यको जिम्मेवारी बोध भएको छ,’’ उनले भनेका थिए । 

    २६ महिनापछि पहिलो पटक (मस्तिष्क पक्षघात भएपछि) पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका नेता आचार्यले लिखित मन्तव्य राखेका थिए । 

    ‘‘नेपाली कांग्रेस कमजोर अवस्थामा आइपुगेको जनतमतले देखाएको छ । यसलाई सुधार गर्न हामी प्रत्येक सदस्य जिम्मेवार र भविश्यमुखी बन्नु पर्दछ । यतिखेर वस्तुपुरक र कठोर समीक्षा जरुरी छ । तर आरोप–प्रत्यारोपले मात्रै कांग्रेस माथि आइपरेका यस चुनौतीको सामना गर्न सकिन्न,’’ उनको लिखित मन्तव्यमा उल्लेख थियो । 

    चैत १२ गते केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बैठकमा लिखित धारणा पेश गर्दै सभापति देउवाको चर्को आलोचना गरेका थिए । उनले निर्वाचनमा कांग्रेस हार्नुका ७ कारण र आगामी दिनमा गर्नु पर्ने ६ वटा विषय समेटेर लिखित धारणा प्रस्तुत गरेका थिए । 

    नेता डा. कोइरालाको लिखित धारणामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बैशाख महिनाभित्र महासमितिको बैठकको मिति तोकिनुपर्ने, संघीय र प्रादेशिक संरचना अनुसार पार्टीको विधान संशोधनका लागि समिति गठन गरिनुपर्ने लगायतका मागहरु उल्लेख थिए । उनले २०७५ चैत्र अथवा २०७६ वैशाखभित्र पार्टीको १४ औं महाधिवेशन गरिनुपर्ने पनि बताएका थिए ।   

    सोही दिन डा. संग्रौलाले पनि बैठकमा लिखित धारणा पेश गरेकी थिइन् । उनले काँग्रेस हारको दोष सभापति देउवा एक्लैले नभएर पदीय जिम्मेवारी अनुसार सबैले लिनुपर्ने बताएकी छन् । कांग्रेसको पराजयलाई चुनौति र अवसर दुवैको रुपमा लिदै सामुहिक भावनाका आधारमा स्पष्ट मार्गचित्र कोरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो । 

    ‘‘पार्टी भित्र मौलाउँदै गएको चरम गुटवन्दी एवं व्यक्तिवादी प्रवृतिलाई अन्त्य गर्दै पार्टीलाई विधान बमोजिम सामुहिक नेतृत्वको आधारमा सम्पूर्ण नेतृत्व वर्गले आफ्नो पदीय दायित्व अनुसार आत्माआलोचना एवं समीक्षा गर्दै केन्द्रदेखि गाउँ, नगर वडासम्मका सबै नेता तथा कार्यकर्ताबीच वृहत एकता हुन जरुरी छ,’’ नेतृ संग्रौलाको लिखित धारणामा उल्लेख छ । 

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अकल्पनिय परिणाम आएपछि आन्तरिक कलहमा फसेको कांग्रेसको चुनावी समीक्षा बैठकमा संस्थापन पक्ष र पौडेल–सिटौला पक्ष एकअर्का विरुद्ध आक्रामक ढंगबाट प्रस्तुत भइरहेका छन् ।  कांग्रेसको समीक्षा बैठकको सुरुवातमै पौडेल पक्ष सभापति देउवा विरुद्ध आक्रामक रुपले प्रस्तुत भए पछि संस्थापन पक्ष पनि पौडेल पक्षको कडा प्रतिवाद गर्दै आएको छ । 
     

http://radiosaligram.com.np/