आज : २०७४ मङ्सिर ८ शुक्रबार|समय : ०९:२६

स्वास्थ्य

  • डा. अनिल भट्टराईः जसले नेपालमै सम्भव बनाए काखीमा प्वाल पारेर मुटुको शल्यक्रिया

    विदेशमा पढाइ, नेपालमा सेवा

    २७ असार काठमाडौं । मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन ।

    डा. भट्टराई काखीमुनी प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने नेपालका पहिलो र सम्भवत एक मात्र डाक्टर हुन् । कार्डियोभास्कुलर सर्जरीमा विद्यावारिधि गरेका उनलाई नयाँ प्रविधिमा काम गरेवापत सन् २०११ अक्टोबरमा पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसमा ‘फ्रान्सिस फन्टान’ नामक अन्तर्राष्ट्रिय पुरस्कार समेत प्रदान गरिएको थियो ।

     

    विदेशमा अध्ययन, नेपालमा सेवा

    पर्वतको तिलाहार गाविसमा जन्मेका भट्टराईले एसएलसी पछिको सम्पूर्ण शिक्षा र तालिम विदेशमै पूरा गरे ।

    सन् १९९४ मा एमबिबिएस पढ्न उनी रुस पुगे । एमबिबिएस सकेपछि सन् २००२ देखि २००४ सम्म उनले नेपाल आएर त्रिवि शिक्षण अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्य गरे । त्यसपछि छात्रवृत्तिमा एमडी पढ्न पुनः रुस हानिए । रुसमा रहँदा सन् २००८ मा उनले पहिलोपटक आफ्नै अगूवाईमा एक शिशुको मुटुको प्वाल टालेका थिए ।

    २००८ मा फेलोसिप गर्न एक वर्षका लागि उनी अमेरिका पुगे । त्यसपछि उनले २००९ देखि २०१३ सम्म इटलीमा रहेर विद्यावारिधि गरे । त्यसक्रममा त्यहाँ पनि थुप्रै शल्यक्रियाहरुमा संलग्न हुने अवसर पाए । पढाई कर्मका खातिर आफ्नो जीवनको ठूलो कालखण्ड विदेशमा विताएका उनको मनमा आफ्नै देश फर्किने र जनताको सेवा गर्ने हुटहुटी चल्न थाल्यो, जुन उनका बाबुआमा पनि चाहन्थे । उसो त उनलाई विदेशमै काम गर्ने प्रस्तावहरु नआएका हैनन् । तर, आफ्नै देशमा गएर काम गर्ने योजना उनले बुनिसकेका थिए । अन्ततः सन् २०१३ मा उनी सदाका लागि नेपाल फर्किए ।

    डा भट्टराई नेपाल फर्किँदा नेपालमा मुटुरोगको उपचार गर्ने दुईवटा अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा त्रिवि शिक्षण अस्पताल अन्तरगतको मनमोहन कार्डियाक सेन्टर सञ्चालनमा थिए । दुईमध्ये मनमोहनलाई नै उनले प्राथकितामा राखे ।

    ‘मैले पहिले पनि यहीँ काम गरेकाले यो संस्थासित आत्मियता त थियो नै, यहाँका वरिष्ठ चिकित्सकहरुले समेत आग्रह गरेकाले पनि मैले यसैमा काम गर्ने निधो गरेँ,’ डा भट्टराई सम्झिन्छन् ।

    विदेशमा रहेर अध्ययन गरेको मान्छे, सिधै नेपालको सरकारी अस्पतालमा काम गर्दा उनलाई अप्ठ्यारो महसुस नभएको हैन । सहकर्मीहरु सहयोगी नहुने, उपचार प्रक्रियामा साथ नदिने समस्याहरु धेरै थिए ।

    स–साना कुराको लागि पनि एक्लै लड्नु पथ्र्यो । ‘कहिलेकाहीँ त विदेशै फर्किने सोच पनि आउथ्यो’ उनी भन्छन्, ‘तर सबैले यस्तै सोच्ने हो भने यहाँ कसले गर्ने भनेर आफूलाई कन्भिन्स गरेँ ।’

    अन्ततः यही सोच र दृढ अठोट लिएर मानिसहरुलाई सम्झाउदै, बुझाउँदै, काम गर्दै जाँदा पछिल्ला दिनहरु उनका लागि सहज बन्दै गए । काम गर्दै जादाँ निजी अस्पतालबाट थुप्रै प्रस्ताव आए । तर, सरकारीमै टिकिरहनुको कारण प्रष्ट्याउँदै उनी भन्छन्, ‘निजीमा काम गर्दा तलव सुविधा त धेरै हुन्थ्यो होला, तर दुरदराजका मानिसलाई सेवा पुर्‍याउन सकिन्नथ्यो ।’

    अहिले उनले मनमोहनमै रहेर थुप्रैको निःशुल्क शल्यक्रिया गरिसकेका छन् । साथै, अन्य संस्थाहरुसित मिलेर कतिलाई काठमाडौं आउने–जाने व्यवस्था गरिदिने, फ्रि क्याम्पहरुको आयोजना गर्ने, मुटु सम्बन्धी जनचेतना फैलाउने, अत्यावश्यक मानिसहरुलाई प्राथमिकतामा राखेर शल्यक्रिया गर्ने लगायतका काम गर्दै आएका छन् ।

    आफ्नै लगानीमा विदेशबाट उपकरण

    डा. भट्टराई विदेशबाट फर्किँदा उनले चाहेजस्तो उपकरण नेपालमा थिएन । जसले गर्दा कतिपय उपकरण उनी आफैंले युरोपबाटै मगाए । तीमध्ये केही उपकरण अस्पतालहरुले नै खरिद गरिदिए । डा. भट्टराईका अनुसार उनकै प्रयासमा त्यतिबेला विदेशबाट ल्याइएका उपकरण अहिले पनि विभिन्न अस्पतालहरुमा प्रयोग भइरहेको छ ।

    पहिलो शल्यक्रिया र चश्मा उपहार

    सन् २००६ देखि २०१७ भित्र डा. भट्टराईले ३ हजार भन्दा बढीको मुटुको सफल शल्यक्रिया गरिसकेका छन् । यस दौरान अहिलेसम्म कुनै अप्रिय घटना बेहोर्नु नपरेको उनी बताउँछन् ।

    उनले सन् २००८ मा जीवनको पहिलो शल्यक्रियाका रुपमा भर्खर जन्मेको शिशुको मुटुको प्वाल टालेका थिए । ‘जीवनमै पहिलोपटक आफ्नै नेतृत्वमा सम्पन्न गरेको शल्यक्रिया सफल हुँदा खुशी लाग्नु त स्वभाविकै हो । तर, बिरामीका परिवारले आफ्नो कामको सह्राहना गर्दै हृदयदेखि आभार व्यक्त गर्दा अनुभव नै बेग्लै हुन्छ,’ उनले भने ।

    शफल सल्यक्रियापछि शिशुका मातापिताले एउटा चश्मा उपहार दिएका थिए, जुन उनी अहिले पनि लगाउने गर्छन् ।

    जोखिम ५ प्रतिशत

    मुटुको शल्यक्रिया आफैँमा जटिल हुने भएकोले यसमा बिरामीको मृत्यु हुने खतरा पनि हुन्छ ।

    डा. भट्टराई भन्छन्, ‘त्यो ५ प्रतिशतमा जो पनि पर्न सक्छ ।’

    उनले इटलीमा आफ्ना एक शिक्षकको एउटा घटना सुनाए, ‘मेरा गुरु एउटा नाम चलेका मुटु शल्यचिकित्सक थिए । एकपटक उनले आफ्नै आमाको शल्यक्रिया गर्नु पर्ने भयो । विडम्बना, शल्यक्रिया सफल हुन सकेन र उनकी आमाको निधन भयो ।’

    यद्यपि कतिपय अवस्थामा प्रविधिका कारण वा मानवीय कारण पनि गल्ती हुनसक्ने उनको भनाइ छ । तर, त्यसमा एउटा मात्र चिकित्सक दोषी नभई सम्पूर्ण टिम नै त्यसको उत्तरदायी हुने उनले बताए ।

    काखीमुनीबाट शल्यक्रियाको कथा

    डा. भट्टराईले इटालीमा छँदा युरोपियन काग्रेसको सभामा भाग लिने अवसर पाएका थिए । उक्त सभामा विभिन्न देशका प्रतिनिधिहरुले आ–आफ्नो देशले सञ्चालनमा ल्याएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराएका थिए । भाग्यवस्, उनले त्यही प्रविधिमा आधारित काखीमुनी प्वाल पारेर मुटुको जटिल शल्यक्रिया गर्ने टिममा सहभागी हुने मौका पाए । त्यसबेला ५÷६ वटा त्यस्ता शल्यक्रियामा सहभागी भएको उनी बताउँछन् ।

    नेपाल फर्केपछि पराम्परागत विधिमा नै मुटुको शल्यक्रिया गर्दै आएका उनले सन् २०१६ मा पहिलोपटक नयाँ प्रविधिलाई आत्मसात गरे । उनले ग्रीनसिटी अस्पतालमा एक मुटुरोगीको काखीमुनी सानो प्वाल पारेर सफल शल्यक्रिया गरेका थिए ।

    त्यसबेला, धादिङ्गकी १६ वर्षीया श्रीषा कार्कीलाई लिएर उनका बुबा काठमाडौं आएका रहेछन् । श्रीषा आविवाहित थिइन् । शल्यक्रियाका दौरान छातीको बीचमा लामो दाग रहँदा छोरीको विवाह गराउन समस्या पर्ला कि भन्ने चिन्ता बुबालाई थियो ।

    यो समस्या उनले डा. भट्टराईलाई सुनाए । ‘त्यस अघिसम्म मैले स्तन मुनी काटेर शल्यक्रिया गर्दै आएको थिएँ । त्यसमा साधारण दाग देखिने गरेको थियो । तर, एउटा बाबुले त्यति भनेपछि म सोच्न बाध्य भएँ र विदेशमा सिकेर आएको प्रविधिलाई नेपालमा अब प्रयोग गर्नुपर्छ भन्ने लाग्यो,’ डा. भट्टराईले भने ।

    त्यसपछि उनले आफूले काखीमुनी प्वाल पारेर उपचार गर्ने प्रविधि विदेशबाट सिकेर आएको तर, अहिलेसम्म नेपालमा प्रयोग गरेको नगरेको सुनाए । र भने, ‘तपाईको छोरीमै पहिलो पटक गर्ने हो । के तपाईं मलाई विश्वास गर्नु हुन्छ ?’

    विरामीका बाबुले पनि ‘तपाईले सक्नुहुन्छ, गर्नुस्’ भन्दै डा. भट्टराईप्रति भरोसा देखाए । ‘विरामीले साथ नदिएको भए शायदै मेरो कोशिश सम्भव हुन्थ्यो,’ डा. भट्टराई भन्छन् ।

    शल्यक्रिया सफल भएपछि उनले डा. भट्टराईले गाईको घिउ उपहार दिएका थिए ।

    त्यसयता उनले सोही प्रविधिमा आधारित रहेर हालसम्म १५/१६ जनाको मुटुको शल्यक्रिया गरिसकेका छन् । काखीमुनीबाट शल्यक्रिया गर्न छिमेकी मुलुक भारतमा १० लाख भारु पर्ने तर, नेपालमा ३–४ लाख रुपैयाँमा गर्न सकिने उनी बताउँछन् ।

    ‘अहिलेसम्म हामीले न्यूनतम शुल्क वा निःशुल्क यस्तो शल्यक्रिया गर्दै आएका छौं,’ डा. भट्टराईले भने ।

    दुःख बढी, पैसा कम

    डा. भट्टराई सधैभरी शल्यक्रियामै व्यस्त हुने चिकित्सकमा पर्दछन् । हप्तामा चार दिन शल्यक्रियामै विताउने उनी बाँकी तीन दिन भने ओपीडीका विरामीको चेकजाँच गर्छन् । आवश्यकता पर्दा राति २ बजे, ४ बजे पनि अस्पताल आउने र कहिलेकाँही दिनमै तीन पटक पनि अस्पताल आउने उनले सुनाए ।

    डा भट्टराई भन्छन्, ‘मानिसको आँखा, कान र फोक्सो दुईवटा हुन्छ । एउटा भाग निकाले पनि मानिस बाँच्न सक्छ । तर, मुटु यस्तो संवेदनशील एउटा अंग हो, जुन एक मिनेट रोकिदाँ पनि मान्छे मर्न सक्छ । त्यसैले जुनसुकै बेला तपाईं (शल्यक्रियाका लागि) तयार हुनुपर्छ । भोलि गरुँला भन्ने कुरै आउँदैन ।’

    यस अर्थमा उनी पैसा कम र दुःख ज्यादा हुने क्षेत्रको रुपमा मुटुको शल्यचिकित्सा क्षेत्रलाई मान्छन् । ‘एउटा शल्यक्रिया गर्नमा कम्तीमा पनि ५÷७ घण्टा लागिहाल्छ । त्यसबाहेक, शल्यक्रियापछिको क्षण र विरामीको अवस्थाले गर्दा पनि हामीलाई दुःख बढी छ,’ उनी भन्छन् । दुःखकै कारण पछिल्लो समय चिकित्सकहरुले सबैभन्दा नरुचाएको क्षेत्रमध्ये यो क्षेत्र एक रहेको उनको बुझाइ छ ।

    बढी खर्चिलो र धेरै समय लाग्ने भएकोले पनि निजी अस्पतालहरुको प्राथमिकतामा यस्ता शल्यक्रिया कम पर्ने उनको भनाइ छ । सरकारीमा सुविधा हुने भएकोले विरामीहरु पनि सरकारीप्रति नै बढी आकर्षित हुने उनी बताउँछन् ।

    व्यक्तिगत जीवन छैन

    मुुटु शल्यचिकित्सक भैसकेपछि डा. भट्टराईको एउटा नमिठो अनुभव पनि छ । गत वर्ष उनी परिवारसहित कतै घुम्न जान हिँडेका थिए । तर, बाटैमा उनलाई अस्पतालबाट फोन आयो । उनले सबै कार्यक्रम रद्द गरेर अस्पताल फर्किनुपर्‍यो  ।

    ‘यस्तै हुने भएकाले आजकल परिवारमा कहिल्यै कसैले मसित घुम्न जाने भन्दैन । देशै छोडेर गए मात्र व्यक्तिगत जीवन हुन्छ, नत्र हुँदैन,’ उनले स्पष्ट पारे ।

     

     

http://radiosaligram.com.np/